शान्ति, एकता र सामाजिक सद्भाव जोगाउन मधेश सरकारको विशेष आग्रहः गृह सञ्चार तथा कानुन मन्त्री महतो

धनुषा, १४ साउन । मधेश प्रदेशमा पछिल्लो समयमा घटिरहेको घटनाक्रमका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले नागरिकलाई धैर्यता, संयम र जिम्मेवारी प्रदर्शन गर्न आग्रह गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जारी गरेको सार्वजनिक अपिल मार्फत प्रदेशमा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वासलाई कायम राख्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरेको हो ।
मन्त्री महतोले मधेश प्रदेश बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको प्रदेश भएको हुनाले कुनै पनि घटनालाई साम्प्रदायिक वा धार्मिक विवादका रूपमा प्रस्तुत गर्ने वा समाजमा विभाजन ल्याउने प्रयासले प्रदेशको सामाजिक एकतामाथि नकारात्मक असर पार्ने बताए ।
उनले तथ्यहीन सूचना, अफवाह तथा उत्तेजक सामग्रीको प्रचार–प्रसार नगर्न र त्यस्ता गतिविधि प्रति सचेत रहन सबैलाई आग्रह गरे ।
उनका अनुसार प्रदेश सरकार नागरिकको सुरक्षा, सार्वजनिक शान्ति तथा कानूनको शासन कायम गर्न पूर्ण रूपमा सक्रिय रहेको छ । वर्तमान अवस्थालाई ध्यानमा राखी सुरक्षा निकायसँग आवश्यक समन्वय र परिचालन भइरहेको तथा परिस्थितिको निरन्तर समीक्षा गरिरहेको पनि अपिलमा उल्लेख गरिएको छ ।
मन्त्री महतोले हिंसा, आगजनी, तोडफोड, घृणा फैलाउने अभिव्यक्ति तथा सार्वजनिक शान्ति खलबल्याउने कुनै पनि गतिविधि कानून विपरीत रहेको स्पष्ट गर्दै यस्ता कार्यमा संलग्न जो–कोही माथि कानुनी कारबाही गरिने चेतावनी दिए ।
साथै उनले धार्मिक अगुवा, जनप्रतिनिधि, राजनीतिक दल, सञ्चार माध्यम, नागरिकसमाज, शिक्षक, विद्यार्थी, युवा तथा सम्पूर्ण प्रदेशवासीलाई सामाजिक सद्भाव र सह अस्तित्वको वातावरण जोगाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्न आग्रह गरे ।
सामाजिक सञ्जालमा आउने अपुष्ट सूचनाको पछि नलाग्न र आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र विश्वास गर्न पनि उनले अनुरोध गरे । मन्त्री महतोले शान्ति, सहिष्णुता, आपसी सम्मान र सामाजिक एकता नै मधेश प्रदेशको पहिचान र बल भएको उल्लेख गर्दै सबै नागरिकले जिम्मेवारीपूर्ण व्यवहार गरेमा वर्तमान चुनौतीलाई सहज रूपमा सामना गर्न सकिने विश्वास व्यक्त गरे ।
उनले प्रदेशमा शान्तिपूर्ण वातावरण कायम राख्न सरकार सबै पक्षसँग सहकार्य गर्न प्रतिबद्ध रहेको समेत बताए ।