‘सामाजिक सद्भाव बिग्रने कुनै पनि गतिविधि स्वीकार्य छैन’ : मुख्यमन्त्री यादव

जनकपुर,१४ साउन । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सुनसरी घटनापछि विभिन्न जिल्लामा भइरहेको प्रदर्शनका बीच सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

मुख्यमन्त्री यादवले घटनाका दोषीलाई प्रचलित कानुनअनुसार कारबाही हुने भएकाले संविधान र कानुनी प्रक्रियामाथि विश्वास राख्न सबैसँग अपिल गरे। उनले कुनै पनि व्यक्ति वा समूह संविधानभन्दा माथि नरहेको उल्लेख गर्दै शान्तिपूर्ण वातावरण कायम राख्नु सबैको साझा दायित्व भएको बताए।

उनले आन्दोलन लोकतान्त्रिक अधिकार भए पनि त्यसका नाममा हिंसा, तोडफोड, आगजनी तथा सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे। यस्ता घटनाले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको छविमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

मुख्यमन्त्री यादवका अनुसार सर्वदलीय बैठकमार्फत पनि सबै पक्षलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न तथा कानुनको पालना गर्न आग्रह गरिएको छ। साथै, साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट पछिल्लो परिस्थितिसम्बन्धी थप निर्णय हुन सक्ने उनले जानकारी दिए।

हिंसात्मक गतिविधिका कारण केही क्षेत्रमा कर्फ्यु लागू गर्नुपरेको, विद्यालयको पठनपाठन प्रभावित भएको तथा अस्पतालमा रहेका बिरामी र सेवाग्राहीसमेत असहज अवस्थामा परेको उल्लेख गर्दै उनले परिस्थिति सामान्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।