बाराको कलैयामा , हिन्दु–मुस्लिम समुदायले दिए एकताको सन्देश

बारा, १६ साउन – पछिल्लो समय देशका विभिन्न स्थानमा सामाजिक सद्भावलाई असर पुग्ने घटनाप्रति चासो बढिरहेका बेला बाराको कलैयामा राजनीतिक दलका नेता, धार्मिक अगुवा, नागरिक समाज तथा दुवै समुदायका स्थानीयवासीको सहभागितामा सामाजिक सद्भाव र्‍याली आयोजना गरिएको छ।

सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी भाइचाराको सन्देश फैलाउने उद्देश्यले निकालिएको र्‍यालीमा बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य चन्दन सिंह, युवा नेता रामचन्द्र चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, हिन्दु तथा मुस्लिम समुदायका धार्मिक अगुवा, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कलैयाका विभिन्न भागको परिक्रमा गरेको र्‍यालीका सहभागीहरूले सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको पक्षमा नाराबाजी गरेका थिए। उनीहरूले कुनै पनि प्रकारका अफवाह, उत्तेजक अभिव्यक्ति वा साम्प्रदायिक विभाजन निम्त्याउने गतिविधिबाट टाढा रहन सबै समुदायलाई आग्रह गरेका छन्।

र्‍यालीपछि आयोजित संक्षिप्त कार्यक्रममा वक्ताहरूले बारा जिल्लाको शान्ति–सुरक्षाको अवस्था हालसम्म सामान्य रहेको उल्लेख गर्दै सबै समुदायबीचको आपसी विश्वास र सहकार्यकै कारण जिल्लामा सद्भाव कायम रहेको बताए।

उनीहरूले सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना र भडकाउ सामग्रीप्रति सचेत रहन आग्रह गर्दै कुनै पनि अफवाहको पछि नलाग्न सर्वसाधारणलाई अपिल गरे। साथै, समाजमा धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै सद्भाव र सहिष्णुताको वातावरण जोगाइराख्नु सबैको साझा दायित्व भएको उनीहरूको भनाइ थियो।

कार्यक्रममा सहभागी नेताहरूले भविष्यमा पनि कुनै पनि बहानामा सामाजिक सद्भाव खल्बलिने अवस्था आउन नदिन राजनीतिक दल, धार्मिक समुदाय, सुरक्षा निकाय र नागरिक समाजबीच निरन्तर समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले शान्ति, एकता र आपसी विश्वास कायम राख्न सबै पक्ष जिम्मेवार र संयमित हुनुपर्नेमा जोड दिएका छन्।