पर्साका निजी विद्यालयले पाँच महिनाको शुल्क छुट दिने

पर्सा : वीरगन्ज महानगरपालिकाभित्रका निजी विद्यालयहरूले कोरोनाको कारण बन्द अवधिमध्ये पाँच महिनाको शुल्क नलिने भएका छन्‌। प्राइभेट तथा बोर्डिङ्ग स्कूलहरूको संगठन (प्याब्सन) पर्साले यस्तो निर्णय गरेको हो।

गएको चैत ३० मा पहिलो पटक तीनजना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि हटस्पट बनेको वीरगन्ज महानगरका निजी विद्यालयहरूले पाँच महिनाको शुल्क नलिने प्याब्सन पर्साले जानकारी दिएको छ। 

गत मंगलबार बसेको प्याब्सन पर्साको बैठकले कोरोनाको कारण आर्थिक मारमा परेका अभिभावकहरूको अवस्थालाई मध्य नजर गरी यस्तो निर्णय गरेको प्याब्सन पर्साका सचिव छेडुप लामाले बताए।

शिक्षा मन्त्रालयले भने विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ मा १५४ दिनमा ७० प्रतिशत पाठ्यक्रम पूरा गर्ने र शुल्क पनि लिन पाउने उल्लेख गरेको छ। तथापि, कोरोना अवधिमा अभिभावकलाई परेको आर्थिक भारलाई दृष्टिगत गरी पाँच महिनाको शूल्क नलिने निर्णय गरिएको सचिव लामाको दावी छ। 

16 Push 077 final

अनलाइन र प्रत्यक्ष दुवै माध्यममा गत बैशाखदेखि भदौसम्म कक्षा सञ्चालन नगर्ने विद्यालयले असोजदेखि मात्र शुल्न लिन पाउने गरी निर्णय गरिएको प्याब्सन पर्साको निर्णयमा उल्लेख छ। अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरूको हकमा भने अभिभावकहरूसँगको सहमतिमा असोज अगाडिको पनि शुल्क लिन पाउने प्याब्सन पर्साको भनाइ छ।

आफूहरूको निर्णय स्वीकृतिका लागी बुधबार वीरगञ्ज महानगरपालिकामा पनि पेश गरिएको र सोबारे महानगरले पनि स्वीकृति दिने जनाइसकेको सचिव लामाले जानकारी दिए।

प्रत्यक्ष र अप्रत्यक्ष अनलाइन माध्यमबाट अध्यापन गराइका विद्यालयहरूले शुल्क लिने कुरामा अझै द्विविधा छ। यो विषयमा नेपाल सरकारको निर्णय नै अन्तिम हुने र महानगर पनि सोही अनुसार अगाडी बढ्ने वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताए।