डुंगामा हेलिनुपर्ने ठाउँमा पक्की पुल बनेपछि स्थानीयबासी दंग

सर्लाही : सर्लाहीको दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकौल गाउँपालिकाको महिनाथपुर र रौतहटको धरमपुर गाउँलाई जोड्ने गरी बागमती खोलामा पक्की पुल बनेपछि स्थानीयवासी दंग परेका छन्।

डुंगामा चढेर (हेलिएर) खोला वारपार गर्नुपर्ने ठाउँमा एक करोड २५ लाख रुपैयाँ लागतमा साँढे सात सय मिटर लामो पक्की पुल बनेपछि दुवै जिल्लाका बासिन्दालाई खोला वारपार गर्न सहज भएको हो। 

धनकौल –४ महिनाथपुर र रौतहटको गढीमाई नगरपालिका–६ धरमपुर जोड्ने गरी निर्माण गरिएको पक्की पुलबाट अहिले खोलाको आसपासमा खेती गर्न वारपार गर्नुपर्ने किसानसँगै टायरगाडा, साइकल, मोटरसाइकल र अन्य सवारीसाधन ओहोरदोहोर गरिरहेका छन्।

लामो क्षेत्रफलमा फिँजिएर खोला बगेको स्थानमा पक्की पुल बनेपछि दुवै जिल्लाका किसानलाई खोला तर्न सहज भएको धनकौल गाउँपालिका छटौलका पप्पु महतोले बताए।

16 Push 077 final

पुल नबन्दा वर्षामा बाढी आएको समयमा १५ मिनेटको बाटोमा ३ घण्टाको बाटो तय गर्नुपर्थ्यो, अन्य समयमा खोला वारपार गर्न प्रतिव्यक्ति ५० र मोटरसाइकलसहित १ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता थियो।

अति आवश्यक स्थानमा पुल बनेपछि स्थानीय बासिन्दालाई आवागमनमा अत्यन्त सजिलो भएको सर्लाहीको बसबरिया गाउँपालिका–३ का सुनिल यादवले बताए। ‘पुल नहुँदा यस ठाउँमा आवातजावत गर्न असुरक्षित हुन्थ्यो, पटक पटक अप्रिय घटना हुने गर्थ्यो।’

पुल बनेसँगै मानिसको आवागमन बढेको र ढुक्कसँग हिँडडुल गर्न पाइएको उनले बताए।  प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले पुल निर्माण कार्य पूरा भए पनि सर्लाही र रौतहटको दुवैतर्फ बाटो निर्माणको काम भने पूरा नभएकाले स्थानीयलाई समस्या भइरहेको बताए।

खोला बग्ने स्थानमा बनेको पुलसम्म पुग्न महिनाथपुरबाट करिब ३ र धरमपुरबाट एक किलोमिटर बाटो पनि तत्कालै निर्माण भए आवतजावत थप सहज हुने उनको भनाइ छ।