नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । दमौलीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताएका हुन् ।
नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको चर्चा गरे । ‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ’, पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिए । झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ थियो ।
वरिष्ठ नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताए । पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, ‘एक वर्ष म्याद थप्न पाउने अवधि पनि सकिन लाग्यो, माघ मसान्तभित्र क्रियाशील सदस्यता टुङ्गो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपर्छ ।