रौतहटमा देशकै सबभन्दा ठुलो काठको फर्निचर मेला शुरु

प्रत्येक वर्ष झै यस वर्ष पनि रौतहटमा देशकै सबभन्दा ठुलो काठको फर्निचर मेला शुरु भएको छ । रौतहटको मध्य भाग जयनगरमा ठूलो फर्निचर मेला लागेको छ ।
प्रत्येक वर्ष श्रीपञ्चमी देखी एक महिना सम्म लागदै आएको फर्निचर मेला यस वर्ष पनि लागेको छ । प्रत्येक वर्ष जिल्लाको गरुडा नगरपालिका १ जयनगरमा लाग्ने फर्निचर मेला सम्भवतः देशकै ठूलो फर्निचर मेला हो ।

दुई दिन अघिदेखी शुरु भएको फर्निचर मेला अबको एक महिनासम्म लाग्ने छ ।
मेलामा फर्निचर र फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ । उक्त मेलामा तराईका साथै भारत विहारबाट पनि आएर कतिपयले आफना घरायसी प्रयोजनका लागि फर्निचर किन्ने गर्दछन भने कतिपयले खरिदबिक्रीका लागि पनि फर्निचरका सामग्रीहरु किन्ने गर्छन ।

फर्निचर मेलामा घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका सामग्री विक्रिका लागि ल्याएर राखिएको देखिएको छ ।
जिल्लाको विभिन्न भागबाट फर्निचर व्यवसायीले मेलामा फर्निचर ल्याएका छन् भने छिमेकी जिल्ला बारा र सर्लाहीबाट पनि अत्यधिक मात्रामा काठका फर्निचर मेलामा ल्याइएको छ ।

मेलामा काठबाट बनाईएको पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बे्रन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, कुर्सी, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करीब सबै फर्निचर विक्रीका लागि राखिएको छ भने फलामको पनि सबै सामग्री बिक्रीका लागि ल्याइएको छ ।
रौतहट सहित देशको अन्य ठाउँबाट गरी दुई सयभन्दा बढी व्यवसायीले हरेक वर्ष मेलामा फर्निचर ल्याउने गरेका छन् ।
मेलामा फर्निचर सस्तो पाउने गरेका कारण हरेक वर्ष व्यापार बढ्दै गएको छ । अन्य समयमा सामान किनेको भन्दा जयनगर फर्निचर मेलामा २५ प्रतिशतभन्दा बढी सस्तो हुने गरेको पाइएको छ ।
आफ्नै काठ र आफैले फर्निचर बनाउने हुनाले तुलनात्मकरूपमा फर्निचर सस्तो हुने गरेको व्यवसायीहरू बताउछन् ।
मेलाबाट देशका विभिन्न भागका साथै भारततर्फ पनि फर्निचर लैजाने गरिएको छ । पर्सादेखि महोत्तरीसम्मका ग्राहक फर्निचर किन्न मेलामा पुग्ने गरेका छन् ।

मुख्य गरी बिहेमा दाइजो दिनेहरूका लागि फर्निचर मेला पहिलो रोजाइ हुने गरेको छ भने सस्तो रोज्नेहरूले पनि मेलाबाटै फर्निचर लैजाने गरेका छन् ।
२०६५ साल देखी प्रत्येक बर्ष बसन्त पञ्चमी देखी सुरुभएर चैत्र महिनाको रामनवमी सम्म चल्ने जयनगर फर्निचर मेलाको अर्को आकर्षण रहेको छ फलामको बिभिन्न प्रकारको कृषीयन्त्र निर्माण तथा बिक्री बितरण ।

उक्त मेलामा स्थानिय मिस्त्री,बारा,सर्लाहीका साथै भारतको बिभिन्न ठाँउबाट आएका मिस्त्रीहरु फलामको कोदालो,हँसिया,कुटो, बञ्चरो खुकुरी,लगातका सामग्री निर्माण गरेर बिक्रि गर्दछन ।
मेलामा बिक्री गर्नको लागि विश्वकर्मा लोहार जातीले २÷३ महिना अघिदेखी नै फर्निरका सामग्रीहरु बनाउने कार्य शुरु गर्ने गर्छन । अहोरात सम्म खटेर मिहनतका साथै लोहार जातीले बनाएको फर्निचरका सामग्री अहिले मेलामा ल्याएर बिक्री गरेर राम्रो आम्दानि गर्ने गर्दछन ।

विश्वकर्मा लोहार संघ फर्निचर मेला व्यवस्थापन समिति जयनगरको आयोजनामा लागेको मेलामा यस वर्ष पाँच करोड भन्दा बढीको कारोबार हुने विश्वास गरिएको छ ।
हरेक वर्ष मेलाको विस्तार भइरहेकोले मेलालाई थप व्यवस्थित पार्ने प्रयास भइरहेको समितिको भनाइ छ ।

मेलाबाट नेपालको सर्लाही, रौतहट, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको समितिले जनाएको छ ।

यातायातको सुविधा भएको र तुलनात्मकरुपमा फर्निचर सस्तो पर्ने हुनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलाबाट लाभ उठाइरहेको समितिको दाबी छ ।
हरेक वर्ष फर्निचर मेलामा व्यापार बढ्दै जाँदा फर्निचर व्यवसायी पनि उत्साहित हुँदै गएका हुन् ।
मेलामा फर्निचर आउने क्रम अझै जारी रहेको छ ।
शिवनगरमा प्रत्यक बर्ष अर्थात वसन्त पञ्चमीका दिन देखि यो मेला लागने गरेको हो ।

error: Content is protected !!