शंकर पोखरेलकै नेतृत्वमा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।
प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले भन्नुभयो, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । बहुमतीय सरकार एक/दुई दिनभित्र बन्नेछ ।’
प्रदेश सचिवालयमा दर्ता भएको आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आह्वान भएको विशेष अधिवेशन सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो । विधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बन्नु भएका पोखरेलले धारा १६८ को १ बमोजिम सरकार बनाउनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताइएको छ ।
मुख्यमन्त्री पोखरेलले दिनुभएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गर्दै मौजुदा सरकारलाई अर्को सरकार नबन्दासम्मको लागि काम गर्न जिम्मेवारी दिनुभएको छ । ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २ जना र जनता समाजवादी पार्टीका ४ जना सांसद पदमुक्त भएपछि ८१ सदस्यीय बनेको छ । प्रदेश सभाको अङ्क गणितमा एमाले एक्लैसँग बहुमत रहेको छ ।
कर्णाली प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि पार्टीभित्रको असन्तुष्ट माधव नेपाल समूहका सदस्यले फ्लोर क्रस गर्न सक्ने सम्भावना देखिएकाले पोखरेलले राजीनामा दिनुभएको हो