प्रचण्डको पछि कोही नलाग्ने सियाराम कुशवाहको दावी
सरिता कुशवाहा
रौतहट बैशाख २० गते
रौतहटको कटहरीया नगरपालिकाका मेयर सियाराम कुशवाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब कोही पनि नबस्ने प्रतिक्रिया दिनु भएको छ ।
नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सियाराम कुशवाह लगायत रौतहटका ७ स्थानीय जनप्रतिनिधिलाई कारबाही गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । बस्नै नसक्ने भएपछि आफूहरूले प्रचण्डको साथ छोडेको मेयर कुशवाहले बताउनु भयो । सबथोक मै मात्र हुँ भन्ने अंहकार बोकेकाृ , जुट होइन फुट एजेण्डा नै बनेको , पदमा मात्रै ध्यान प्रचण्डको रहेकाले माओवादी केन्द्र त्याग्न बाध्य भएको कुशवाहले प्रतिक्रिया दिनु भयो ।
शान्ति, स्थायित्व, विकास र समृद्धि ल्याउने नेताको पक्षमा आफु उभिएको उहाको दावी रहेको छ । प्रचण्ड सत्ताको खेलमा लागेको तर ओली देश बनाउने अभियानमा लाग्नु भएकाले आफलेु ओलीलाई साथ दिएको बताउनु भयो । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका कटहरीयाका नगर प्रमुख बन्नु भएका सियारामले एमालेमा भविष्य देखेर एमालेमा प्रवेश गरेको स्पष्ट पार्नु भयो ।
माओवादी केन्द्रले रौतहटको विभिन्न स्थानीय तहका पाँच उपप्रमुख र दुई प्रमुखको पद खारेज गर्न निर्वाचन आयोगमा पत्र पठाइसकेको छ । कुशवाहको पद पनि खारेज गर्न निर्वाचन आयोगमा पत्र पुगेको छ । उहाँले आयोगको निर्णयपछि कानुनी उपचार खोज्ने बताउनु भयो । रौतहट कै भएता पनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटका लागि केही नगरेको कुशवाहको भनाइ रहेको छ ।