रौतहटमा सालको गोलिया ५ थान बरामत
सरिता कुशवाहा । रौतहट बैशाख २८ गते
रौतहटको चन्द्रपुरबाट साल जातको ५ थान गोलिया बरामत गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ भोलुम्टारमा काठ तस्करहरुले साल जातको गोलिया ५ थान २०.८३ क्युफित काठ झाडीमा लुकाई छिपाइ राखेको अबस्थामा बरामत गरिएको जिल्ला डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका जमदार जयलाल प्रसाद पटेलले बताउनु भयो ।
सोमबार पटेलको कमाण्डमा गएको गस्ति टोलीले सो काठ बरामत गरेको हो । लुकाइछिपाई राखेका गोलीया थप कारवाहीका लागी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा पेश गरिएको जनाइएको छ । पछिल्लो समय रौतहटको उत्तरी क्षेत्रमा तस्करहरु सक्रिय भएको देखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका उत्तरी क्षेत्र गैडाटार , हिलेखोला , चिसापानी , मोरङ्गे भोलुम्टार , इपिल , अरुणबस्ति क्षेत्रमा अत्याधिक काठ तस्करी हुदै आएको वन कार्यालयले जनाएको छ ।