कटहरिया नगरपालिकाले जिर्ण सडक नबनाउँदै ग्रेवल भएको सडकमा फेरी ग्रेवल राख्दै, स्थानीयद्धारा विरोध

सरिता कुशवाहा । रौतहट जेष्ठ २७ गते

रौतहटको कटहरिया नगरपालिकाका जनप्रतिनिधि भ्रष्टाचार अर्थात अकुत सम्पती आर्जन गर्न नयाँ शैली अपनाएका छन ।
कटहरिया नगरपालिकाले वडा नं २ जमुनिया टोलमा नहर ग्रेवलको नाममा बजेट दुरुपयोग गर्न लागेको छ ।
कटहरिया नगर प्रमुख शियाराम कुश्वाहाले आफनै गाउँ जमुनिया टोलको पहिलादेखी नै ग्रेवल राखिएको नहरमा दोश्रो पटक ग्रेवल राखेर बजेट दुरुपयोग गर्न लागेको देखिएको छ ।


नगर प्रमुख कुश्वाहाको गाउँ जमुनिया टोलको पच्छिममा रहेको ग्रेवल भएको नहरमा नै पुन मिक्स ग्रेवल राख्ने काम भइरहेको छ ।
नगरपालिकाको ४५ लाखको लागतमा उपभोक्ता समिति मार्फत उक्त ग्रेवल राख्ने काम धमाधम भइरहेको छ ।

पहिलादेखी नै ग्रेवल भएको सो नहर अहिले पनि हर प्रकारले ठिक भएको र ग्रेवल राख्नुपर्ने कुनै आवश्यक्ता नभए पनि नगर प्रमुख कुश्वाहाले आफना मनोपोली ढंगले ग्रेवलमाथी नै ग्रेवल राखेर विकास बजेट दुरुपयोग गर्न लागेको भन्दै स्थानीयहरुले विरोध गरेका छन ।
नगर प्रमुख कुश्वाहाले आफनो कार्यकर्ताहरुलाई पालन पोसन गर्ने उद्देश्यले नहरमा ग्रेभल राखेर बजेट दुरुपयोग गर्दै बढी फाइदा लिने अर्थात भ्रष्टाचार गर्ने उद्देश्यले ग्रेवलमाथी ग्रेवल राख्ने काम गरेको भन्दै स्थानीयहरुले कडा विरोध गरेका छन ।

जमुनियाको मुस्लिम टोलमा सडक विग्रेर अर्थात जिर्ण भएर बर्खायाममा आवत जावत गर्न ठुलो समस्या हुँदै आएपनि त्यो सडकलाई मर्मत सम्भार गर्न कुनै ध्यान नदिई मेयर कुश्वाहाले ग्रेवल भएको सडकमा ग्रेवल राख्ने काम गरेको स्थानीय दशै रामले बताए ।
एकझर वर्षामै हिलोहिलो हुने र धेरै मानिसले आतजावत गर्ने गाउँको भित्रि कच्ची सडकहरुमा ग्रेवल राख्नुपर्ने सट्टामा मेयर कुश्वाहाले पहिलादेखी नै ग्रेवल राखिएको सडकमा दोश्रो पटक ग्रेवल राखेर बजेट दुरुपयोग गर्ने काम गरेको अर्का स्थानीय बासिन्दा एवं नेपाली कांग्रेसका नेता भैरोलाल महतोले बताएका छन ।

हिलाम्य हुने सडकमा ग्रेवल राख्दा फाइदा हुँदैन र ग्रेवल भएको सडकमा ग्रेवल राख्दा धेरै फाइदा हुने भएकोले मेयर कुश्वाहाले ग्रेवलमाथी ग्रेवल राखेर गरिव जनताले रगत पसिना बगाएर तिरेको करको पैसामाथी रजाई गर्न खोजेको नेता महतोले बताए ।
सो नहरमा ग्रेवल नराखी गाउँको जिर्ण कच्ची सडकहरुमा मात्र ग्रेवल राख्न स्थानीयहरुले माग गरेका छन ।
ग्रेवलमाथी ग्रेवल राखेर मेयरले बजेट दुरुपयोग गर्न लागेको स्थानीयहरुले आरोप लगाएपनि मेयर शियाराम कुश्वाहाले स्थानीयहरुको सो आरोपलाई गलतको संज्ञा दिएका छन ।

मेयर कुश्वाहाले पहिलादेखी नै उक्त नहरमा ग्रेवल भएपनि ठाउँ ठाउँमा खाल्डो भइ आवतजावतमा कठिनाई हुँदै आएकोले आफुले जनताको हितको लागि नै ग्रेवल राख्ने काम गरेको बताएका हुन ।
मेयर कुश्वाहाले यो गल्तीलाई स्वीकार गर्नुको सटा आफुले गरेको गल्ती लुकाउन विभिन्न बखेडा झिक्ने काम गरेका छन ।

सो नहरको एकात ठाउँ बाहेक कतैपनि खाल्डो नभएपनि खाल्डोको बहाना बनाएर मेयर कुश्वाहाले आफुले गरेको गल्तीलाई ढाकछोप गर्न खोजेका हुन । यस बारेमा उनी खुलेर वा निर्धक भएर बोल्न पनि चाहेका छैनन बरु उल्टै घुमाउरो पारामा उनी मर्मत सम्भारका लागि ग्रेवल राखेको भन्दै रडिमेट जवाफ दिएका छन ।