रौतहटको बृन्दावन लपामा प्रहरी र महिला समुहबिच झडप , नेतृ सिंह प्रहरी नियन्त्रणमा
रौतहटको बृन्दावन नगरपालिकामा स्थानिय र प्रहरीबिच झडप भएको छ ।
बृन्दावन नगरपालिकाले महिलाहरुका लागी सिपमुलक तालिम लगायत महिला सशक्तिकरणका लागी नगरपालिकाले बजेट विनियोजन नगरेको भन्दै स्वतन्त्र महिला समुहद्धारा गत असार १३ गतेदेखि नगरपालिकामा तालाबन्दि गरि धर्ना बस्दै आएका थिए ।
नगरपालिकाको कामकाज बन्द भएपछि मंगलबार साझ ६ बजे इलाका प्रहरी कार्यालय गरुडाबाट खटि गएका महिला प्रहरी , जनपद लगायतका टोलीले ताला खोल्न खोज्दा महिला समुहले प्रहरीहरुमाथी हातपात गरेपछि झपड भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि सिद्धिविक्रम साहले बताउनु भयो ।
झडपको क्रममा केही प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गेटमा धर्नामा बसेका महिलालाई सम्झाइ बुझाई गर्न गएका प्रहरीमाथि उनीहरूले ढुंगामुढा गर्न थालेपछि प्रहरीले आधा दर्जन सेल अश्रुग्यास प्रहार गरेको प्रहरीको भनाइ रहेको छ ।
महिलाको समूहले प्रहार गरेको ढुंगा लागेर प्रहरीको गाडीमा समेत क्षति पुगेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । स्वतन्त्र महिला समुहका नेतृ प्रभा सिंहलाई प्रहरीले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय गरुडामा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ
राती ९ बजेसम्म पनि धर्ना बसेका महिलाहरुले तत्काल नियन्त्रणमा लिइएको नेतृ प्रभा सिंहलाई छाड्न दवाव दिदै आन्दोलन गरिरहेको नेतृ सिंहका चालकले बताउनु भयो ।
बृन्दावन नगरपालिकाको गेटमा महिलाहरुले सिंहको रिहाइको माग गर्दै नाराबाजी गरिरहेका छन । बृन्दावन नगरपालिकाका सबै वडाहरुमा महिला सशक्तिकरणका लागी प्रति वडा १५ लाखका दरले रकम विनियोजन नगरेसम्म नगरपालिकामा लगाइएको ताला नखोल्ने भन्दै नगरपालिकाको मुल गेटमा ताला लगाई धर्ना बसेको महिला नेतृ प्रभा सिंहलाई प्रहरलिे नियन्त्रण लिएपछि उनीहरु आक्रोसित भएका छन ।