पूर्व सांसद् नरेन्द्र साहले दिए ‘वर्षा पम्प’
कविलासी – पूर्व सांसद् नरेन्द्र साहले कविलासी नगरपालिका वडा नम्बर ५ को कार्यालयलाई वर्षा पम्प प्रदान गरेका छन् ।
सिंचाई प्रयोजनका लागि भन्दै पूर्व सांसद् साहले एक थान वर्षा पम्प वडा कार्यालयलाई प्रदान गरेका हुन् । सोमबार राती कबिलासी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजकिशोर रायलाई उक्त पम्प हस्तान्तरण गरिएको साहका सहयोगि रोशन तामाङले जानकारी दिए ।
खोला, नहर वा कुलोमा बगिरहेको पानीमा राखेपछि सोही पानीको फोर्सबाट घुमेर वर्षा पम्पले पानी फाल्ने गर्दछ । सो पम्प दुईलाख ८५ हजार मुल्य बराबरको रहेको बताईएको छ । उक्त पम्पले पानीको फोर्स अनुसार २० मिटर उचाईसम्म २० देखि ८० हजार लिटर पानी फाल्ने छ । सिंचाई, माछापालन, पशुपालन, एकीकृत खेती लगायतमा प्रयोग गर्न सकिने पम्पबाट थोपा सिंचाई, फिरफिरे सिंचाई, ड्याङ सिचाई, पोखरी ट्यांकीबाट सिचाई लगायतमा उपयोग गर्न सकिने तामाङले जानकारी दिए । पूर्व सांसद् साहले दिएको पम्पलाई केही दिनपछि ढंग्रा खोलामा राखेर प्रयोगमा ल्याईने वडाध्यक्ष रायले उज्यालो अभियानलाई जानकारी दिए । विना ईन्धन पानीबाटै चल्ने पम्पबाट किसानले निकै लाभ पाउने विश्वास आफूले लिएको पूर्व सांसद् साहले जानकारी दिए ।
२०७४ सालको प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र नं.३ मा स्वतन्त्र उम्मेद्वारी दिएर पराजित भएपनि संविधान सभाका सदस्य समेत रहेका साहले क्षेत्र भित्र निरन्तर सहयोग गर्दै आएका छन् । कतै विपन्न परिवारको घर बनाउन त कतै डस्टविन (फोहोर संकलन गर्ने भाँडो) अनि कतै मन्दिर निर्माण त कतै खेलकुद सामग्री प्रदान लगायत समाज सेवाका यावत क्षेत्रमा साहले निरन्तर सहयोग गर्दै आएका छन् । निकट भविष्यमै क्षेत्र भित्र सीसी क्यामेरा समेत जडित १०० थान सोलार बत्तीको पोल वितरण गर्ने साहले जानकारी दिए ।