आलमलाई राज्यले फसाउने षड्यन्त्र गरेको महतको भनाइ
नेपाली काँग्रेसका सह–महामन्त्री प्रकाशसरण महतले मोहम्मद अफताव आलममाथि अन्याय भएको बताउनुभएको छ । सह–महामन्त्री महतले बम विष्फोटनमा घाइतेहरुलार्ई जिउँदै इट्टाभट्टामा जलाएको आरोपमा हाल पूर्पक्षको लागि कारागारमा रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलममाथि अन्याय भएकाले उनले न्याय पाउनुपर्ने जिकिर गर्नुभएको हो ।
रौतहटको चन्द्रनिगाहपुरको होटल एएन प्लाजामा आयोजित नेपाली काँग्रेसका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतले आलमलाई न्याय दिलाउन नेपाली काँग्रेसले संस्थागत रुपमा न्यायिक लगायतका आवश्यक हरेक सहयोग गरिरहेको प्रष्ट पार्नुभयो
जवरजस्ती किसिमले नक्कली प्रमाण बनाएर राज्यले आलमलाई न्यायबाट वन्चित नगरोस् भन्नाका खातिर नेपाली काँग्रेस लागिपरेको सहमहामन्त्री महतको भनाइ छ ।
उहाँले सरकारले जे गर्न खोजेपनि अन्तिममा आलमले अदालतबाटै न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । ‘उहाँ एउटा मुद्धामा जेल जिवन बिताइरहनुभएको छ ’ आलमप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘पार्टीले उहाँलाई सम्पूर्ण कानुनी रुपमा सघाइरहेको छ ।जवरजस्ती नक्कली प्रमाण सृजना गरेर राज्यले उहाँलाई न्यायबाट वन्चित नगरोस् ।’
अर्को एक प्रसंगमा उहाँले संसदिय अंक गणितका कारणे सरकार बनाउने र ढलाउने खेलमा नेपाली काँग्रेसको खासै ठुलो भूमिका नहुने भन्दै राजपा र माओवादी केन्द्रको स्पष्ट धारणा आएपछि मात्र यसबारेमा नेपाली काँग्रेसले विचार गर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसले अहिले हतारिएर केपी शर्मा ओलीको नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव लगे त्यो फेल हुने सम्भावना रहेको अनि त्यसपछि संविधानतः अर्को एकवर्षसम्म ओली नेतृत्वको सरकारलाई हटाउने संवैधानिक बाटो बन्द हुने भएकाले नेपाली काँग्रेस त्यतातिर पनि नलाग्ने स्पष्ट पार्नुभयो ।
नयाँ सरकार निमार्णको बारेमा पछिल्लो समयमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले लिनुभएको अडानको उहाँको आलोचकहरुले पनि प्रशंसा गरेको बन्दै नेपाली काँग्रेस सशर्त वा हातखुट्टा बाँधेर सरकारमा नजाने बरु अर्को चुनावमा पुर्ण वहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दावी गर्नुभयो ।
नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णा यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला स्तरिय अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
दर्जनौ व्यक्तिलाई इट्टाभट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । हाल उनी केन्द्रिय कारागार काठमाडौँमा रहेका छन् ।