लागुऔषधको कारोबार बढ्दो, एकैदिन ६ जना पक्राउ

 झापामा प्रतिबन्धित लागुऔषधको कारोबार तीव्र रुपमा बढ्दैगएको पाइएको छ । दिनहुँजसो प्रतिबन्धित लागुऔषधसहित मानिस पक्राउ पर्दै आएका छन् । यसैक्रममा झापामा शुक्रबार एकैदिन विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डीएसपी राकेश थापाका अनुसार अर्जुनधारा–११ को विर्तामोड बसपार्कबाट भद्रपुर–७ गार्मेन्टचोक बस्ने १९ वर्षिय साहिल खानलाई ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ भने सोही दिन मेचीनगर–१३ चारआली बजारबाट मेचीनगर–१५ निवासी ३० वर्षीय कुमोलाल राजवंशी, २४ वर्षीय संजय मुखिया र भद्रपुर–१० निवासी १९ वर्षीय श्रवण मुखियालाई २९ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ ।

यसैगरी, गोप्य सुचनाको आधारमा भद्रपुर–४ डाँगीबारीबाट प्रहरीले बिर्तामोड–८ बस्ने १९ वर्षीय सरोज सुनुवार र १९ वर्षीय अभिषेक राजबंशीलाई २ ग्राम ४३ मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी थापाले जानकारी दिनु भयो