जनगणना सम्बन्धि जिल्ला स्तरीय सचेतना गोष्ठी
जिल्ला समन्वय समिति रौतहटको सभाहल गौरमा सो कार्यक्रम सम्पन्न भएको हो । मेरो गणना ,मेरो सहभागित भन्ने मूल नाराका साथ हुन् गइरहेको नेपालको १२ औ तथा संघीय संरचनाको पहिलो राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त जानकारी र तयारी कार्य बारे जानकारी गराउने उदेश्यले जिल्ला जनगणना कार्यालय रौतहटको आयोजनामा राष्ट्रिय जनगणना २०७८ को सचेतना गोष्ठीमा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादवले संघीय संरचनाको पहिलो जनगणनालाइ सफल बनाउन सवै सरोकारबालालाइ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विकासको लागि जनगणना महत्वपूर्ण रहेकोले उत्सवको रुपमा लिनु पर्ने धारण राख्नु भयो ।
तथ्यांकको आधारमा नै मुलुकको विकास हुने भएकोले राष्ट्रिय जनगणना २०७८ नेपाली जनताको लागि उपयोगी र सहभागिता जनाउने अवसरको रुपमा रहेको यादवले जिकिर गर्नु भयो । प्रमुख जिल्ला अधिकारी यादवले रौतहटको ५ स्थानीय तहमा स्थानीय जनगणना सहजीकरण संयन्त्रको स्थापना गरिने बताउनु भयो ।
यादवका अनुसार गौर , गरुडा , चन्द्रनिगाहपुर , कटहरिया र बौधीमाइ नगरपालिकाका इनरवारीमा स्थानीय स्तरीय जनगणना सहजीकरण कार्यालय स्थापना गरिने जनाउनु भयो । गौरमा स्थापना हुने संयन्त्रले गौर नगरपालिका राजदेवी नगरपालिका , इशनाथ नगरपालिका , दुर्गा भगवती गाउपालिका र यमुनामाइ गाउपालिकाको गणना गरिने कार्यको निगरानी गरिने छन् ।
गरुडाले गरुडा नगरपालिका , गढि़माइ नगरपालिका , माधव नारायण नगरपालिका , चन्द्रनिगाहपुरमा स्थापना गरिने संयन्त्रले चन्द्रपुर नगरपालिका , गुजारा नगरपालिका , वृन्दावन नगरपालिका , कटहरियाले कटहरिया नगरपालिका ,फतुवा विजयपुर नगरपालिका , देवाही गोनाही नगरपालिका तथा बौधीमाइ नगरपालिकाको इनरवारीमा स्थापना गरिने स्थानीय जनगणना कार्यालयले बौधीमाइ नगरपालिका ,मौलापुर नगरपालिका ,परोहा नगरपालिका र राजपुर नगरपालिकाको तथ्यांक संकलन कार्य गर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।
जनगणनाले नेपालको भौलिक ,भूगोल , जनसंख्या वृद्धि दर , मातृभाषा , शिक्षाको अवस्था , रोजगारीको अवस्था ,बेरोजगारीको अवस्था , घरपरिवारको बनोट , समुदायको बसोवास , जातजातिको विबरण , धर्म , लिङ्ग , मृत्यु दरको जानकारी लिन सहयोग पुग्ने उहाको भनाइ रहेको छ । बैशाख २६ गते देखि पहिलो चरण तथा जेष्ठ २५ गते देखि अषाढ ८ सम्म दोस्रो चरणको विवरण संकलन गरिने छ ।
कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले २०६८ सालको राष्ट्रिय जनगणनामा भएको त्रुटी सुधार गर्नु पर्ने मौका रहेकोले राष्ट्रिय जनगणना २०७८ लाइ उत्सवको रुपमा लिनु पर्ने बताउनु भयो । मधेशी , आदिवासी , जनजाती , थारु , मुस्लिम , महिला , अपांग ,दलित , पिछडीएका वर्ग समुदाय ,लिङ्ग ,धर्म ,का व्यक्तिको आफ्नो पहिचान राष्ट्रिय रुपमा स्थापित गर्न सुनौलो मौकाको रुपमा रहेकोले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले पूर्ण रुपमा सहयोग गर्नु पर्ने आव्हान समेत गर्न भएको छ ।
सचेतना गोष्ठीमा जिल्ला समन्वय समितिका उपाध्यक्ष राम असिस यादव ,राजदेवी नगरपालिकाका नगर प्रमुख धिरेन्द्र कुमार सिंह , माधव नारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादव , राजपुर नगरपालिकाका नगर प्रमुख मोहमद शेख सकिल अख्तर , मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह , गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर , यमुनामाइ गाउपालिकाका उपाध्यक्ष गिता देवी साह , नेकपा एमालेका जिल्ला अध्यक्ष कमल यादव , जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रेवन्त झा लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि , संचारकर्मीहरुको सहभागिता रहेको जिल्ला जनगणना कार्यालयका प्रमुख देव नाथ यादवले जानकारी गराउनु भएको थियो ।